काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देशमार्फ यस्तो बताउनुभएको हो ।
उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शाहले बालविवाह, छाउपडी, दाइजो तथा तिलक लगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।
महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य, समुदाय तथा सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकामा उहाँको जोड छ । प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस ‘महिला अधिकारको सम्मान ः आत्मनिर्भरता र समृद्धिको अभियान’ नाराका साथ मनाइँदैछ ।