काठमाडौं ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्ताले नेतृत्व लिएर माओवादी आन्दोलनको पुनर्गठन गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले विगतको जनयुद्धको नेतृत्व गरेको पुस्ताले माओवादी आन्दोलनलाई अब अगाडी बढाउन नसक्ने बताउनु भयो । माओवादी आन्दोलनका बाँकी एजेण्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले माओवादी आन्दोलनले संविधानमा समावेश गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले समानुपातिक प्रतिनिधित्व र समानताको अधिकार कार्यान्वयनमा देखिएका विकृतिप्रति चिन्ता पनि व्यक्त गर्नुभयो । माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्दै नयाँ चुनौतीको सामना गर्न नसक्दा प्रतिक्रान्तिको अवस्था सिर्जना भएको उहाँको भनाई छ । बन्दुकको लडाइँ मात्र क्रान्ति नभएको उल्लेख गर्दै उहाँले संविधान सभा, शान्ति प्रक्रिया र जनताका समस्या समाधान गर्ने संघर्ष पनि क्रान्तिकै निरन्तरताका रहेको उल्लेख गर्नुभयो । हाल माओवादी आन्दोलनले जनताका समस्या समाधान गर्ने दिशामा आफूलाई अघि बढाउन नसकेको उहाँको भनाई छ । उहाँले अहिले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनु भयो । पछिल्लो राजनीतिक परिस्थितिले प्राप्त उपलब्धि नै संकटमा पर्न सक्ने खतरा उत्पन्न भएको उहाँको भनाई छ । प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ ढंगले राजनीतिक पहल आवश्यक रहेको उहाँले बताउनु भयो ।