काठमाडौं मिथिला क्षेत्रसहित तराई मधेशमा शनिबार बर्साइत पर्व मनाइँदैछ ।
मधेशका विवाहित महिलाले जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै बर्साइत पर्व मनाउने चलन छ । बर्साइत पर्वमा मधेशमा विभिन्न समुदायका महिलाहरु नयाँ लुगा लगाएर वरको रुख नजिक सामूहिक रुपमा मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत गाउँछन् ।
सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा बर्साइत मनाउने गरिएको हो । महिलाहरु बर्साइत पर्वको अघिल्लो दिन अर्थात् जेठ कृष्ण चतुर्दशीमा चोखोनितो खाएर व्रत सङ्कल्प गर्छन् ।
व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रतसहित बर्साइत मनाउने परम्परा छ । महिलाहरुले बस्ती नजिकको वरको फेदमा बर्तालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । मिथिलामा केही दशक पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् ।