काठमाडौं ।

पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता सुरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली काँग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको संयुक्त विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुलुकको आर्थिक विकासका लागि सरकार आफैं अग्रसर हुने नभई सहजकर्ताको भुमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले सरकारले सबै काम आफैँ गर्ने सोचका कारण विगतमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई पूर्वाधार विकासको जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।

पाण्डेले निजी क्षेत्रलाई विकासको जिम्मेवारी दिन तथा लगानीको वातावरण निर्माण गर्न विद्यमान कानूनमा आवश्यकताअनुसार संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्र आयातबाट प्राप्त हुने राजस्वमा निर्भर रहेको उल्लेख गर्दै सरकारको ठूलो हिस्सा नियमित प्रशासनिक खर्च, कर्मचारीको तलब, पेन्सन, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी तथा प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणमा खर्च हुने गरेको बताउनु भयो । उहाँले आर्थिक विकासबिना सामाजिक न्यायको विषय कार्यान्वयन गर्न नसकिने समेत बताउनु भयो ।आर्थिक विकास र सामाजिक न्यायबीचको प्राथमिकता पहिचान गरी सोहीअनुसार विकासको मार्ग तय गर्नुपर्नेमा नेता पाण्डेको जोड छ ।