काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताउनुभएको छ । 

सभामुख अर्यालले ६८ औं संसद दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘गति र भावना मिलेमा मात्र जनचाहना अनुसारको परिणाममुखी काम गर्न सकिने बताउनुभयो । राज्यका सबै अंग विकास र सुशासनतर्फ केन्द्रित हुनुपर्ने तर अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने सभामुखकोे भनाई छ । सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालालाई समेत आग्रह गर्नुभएको छ । वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने सभामुख अर्यालको तर्क छ । 



सभामुख अर्यालले युवालाई राजनीतिक अवसर दिलाउने कार्य अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गराउँदै वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।