काठमाडौं मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभर मनाइँदै छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले त्यस दिन बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रुपमा नमाज पढ्ने गर्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

बकर इदको अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लागेको छ । बकर इदमा मुस्लिम समुदायकाहरु हजको लागि मक्कामदिना जाने गर्छन् । मक्कामदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् ।

यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् ।

परम्पराअनुसार कुर्बानीको मासु तीन भाग लगाइन्छ । त्यसको एक भाग गरिब एवं विपन्न परिवारलाई दिने चलन छ । अर्को एक आफ्ना इष्टमित्रलाई दिएर तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिमको मान्यता छ । बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । यद्यपि मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन बकर इद मनाउने जनाएका छन् ।

बकर इदको अवसरमा राष्टपति रामचन्द्र पौडेल, उपराष्टप्रति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहको साथै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा लगायतका नेताहरुले छुट्टाछुट्टै रुपमा शुभकामना व्यक्त गर्नुभएको छ । ००००