काठमाडौं । सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । 


शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले यस्तो तयारी भएको बताउनुभएको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबै भन्दा बढी आकर्षण भएको बताउनुभएको छ । उनीहरुका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभएको छ ।


सचिव पौडेलले करिव १ हजार ४ सय जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयहरुमा अध्ययन गरिरहेको बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ । सचिव पौडेलले विद्यालय तहमा देखिएको शिक्षकहरुको दरबन्दीको समस्या पनि उक्त ऐन आएपछि स्वतह हल भएर जाने जिकिर गर्नुभयो ।


सचिव पौडेलले सोही ऐन ल्याउन नसक्दा विद्यालय शिक्षामा प्रशानिक तथा व्यवस्थापकीय दुवै समस्या देखिएको बताउनुभएको छ । उहाँले विद्यालय शिक्षाको गुणस्तर बढाउन पनि तीन वटै तहका सरकारहरुले मिलेर काम गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।