यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरु, पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा भएको परीक्षा नियन्त्रण कार्यालयद्वारा जानकारी ।।
काठमाडौं
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरु भएको छ ।
एसइईको पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा लिइएको छ । पहिलो दिनको परीक्षा देशभरका एक हजार नौ सय ६६ केन्द्रमा शान्तिपूर्ण रुपमा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । चैत २९ गतेसम्म हुने एसइईमा नियमित र ग्रेडवृद्धि पाँच लाख १२ हजार चार सय २१ विद्यार्थी सहभागी छन् । यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जनाले परीक्षा दिँदै छन् । एसइई बिहान ८ देखि ११ बजेसम्म हुने गरेको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ । यस वर्ष परीक्षा सकिएको तीन दिनभित्र उत्तरपुस्तिकमा परीक्षण गरिसक्ने सरकारको योजना छ ।