काठमाडौं ।
रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यू हुनेको संख्या ६ सय २६ पुगेको छ ।
भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उहाँकाअनुसार शनिवार विहान साँढे १० बजेसम्म विभिन्न जिल्लामा उक्त शव फेला परेको हो । सबैभन्दा धेरै शव चितवनमा २ सय ३३ वटा शव फेला गरेको उहाँले जानकारी दिनुभयो । यस्तै नवलपुर पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१, गोरखामा ४८, धादिङमा ४५ र रसुवामा १३ जनाको शव फेला परेको छ । प्राधिकरणले शव व्यवस्थापन गर्न समस्या भएको जनाएको छ ।
अस्पतालमा रहेका शवगृहहरुको क्षमता भन्दा बढी शव भेटिएको र शव पहिचान हुन नसकेको कारण शव व्यवस्थापन गर्न चुनौतीपूर्ण बन्दै गएको प्रवक्ता महतले जानकारी दिनुभयो । यद्यपि विभिन्नि अस्पतालहरुको सहयोगमा शव व्यवस्थापन भईरहेको उहाँको भनाई छ । हाल फेला परेका शवहरू सकेसम्म सम्बन्धित जिल्लाका अस्पताल तथा शवगृहमा राखिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार रसुवामा फेला परेका शव जिल्ला अस्पताल धुन्चेमा, धादिङ र नुवाकोटमा फेला परेका शव काठमाडौंका शिक्षण अस्पताल लगायतका अस्पतालमा राखिएका छन् । चितवनमा शवहरू जिल्ला अस्पताल भरतपुर, पुरानो मेडिकल कलेज तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा राखिएको छ । तनहुँ र गोरखाबाट फेला परेका शव पोखराका विभिन्न अस्पतालमा राखिएका छन् ।
पश्चिम नवलपरासीमा पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल भैरहवा र पिपरा अस्पताललगायतमा शव राखिएको उहाँले जानकारी दिनुभयो । नवलपरासी पूर्वमा मध्यबिन्दु नगर अस्पताल, गैँडाकोट नगर अस्पताल, मध्यबिन्दु प्रादेशिक अस्पताललगायतका अस्पतालमा शव राखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शवबाट महामारी फैलिन नदिन आवश्यक व्यवस्थापन गरिरहको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतालमा राखिएका शवलाई कुलिङ सेन्टरमा राखिएकाले बिग्रिने अवस्था छैन । साथै शव विग्रिन नदिन ४ सय शव ब्याग प्रभावित क्षेत्रमा पठाइएको र थप ब्याग पठाउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।