काठमाडौं ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 

विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुग्नुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने बताउनुभएको हो । विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गर्नुभयो । विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उहाँले जग्गा प्राप्तिको कानूनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य शुरु गरिने आश्वासन दिनुभयो । मधेश प्रदेशलाई ‘साक्षर प्रदेश घोषणा गर्ने अभियानका सन्दर्भमा मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन सार्वजनिक गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिनुभयो । उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उहाँले यस विषयमा थप समन्वयका लागि प्रदेश प्रमुख तथा सम्बन्धित एकाइ प्रमुखहरूसँग छलफल गर्ने योजना रहेको समेत स्पष्ट पार्नुभयो । 

शिक्षा क्षेत्रमा थुप्रै चुनौतीहरू रहे पनि ती चुनौतीभित्र अवसरहरू खोज्दै सरकार अगाडि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ ।