काठमाडौं राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्य संरचनामा रहेका जिम्मेवार व्यक्तिहरूको सोच र कार्यशैलीमा परिवर्तन नआउँदा दलित समुदायको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।
ललितपुरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले यस्तो बताउनुभएको हो । मुलुकमा उत्कृष्ट संविधान र कानून निर्माण भएपनि त्यसले दलित समुदायको दैनिक जीवनमा परिवर्तन ल्याउन नसकेको उल्लेख गर्नुभयो। अध्यक्ष विश्वकर्माले दलित समुदाय अझै पनि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको बताउनुभयो । दलित समुदायको उत्थान र मूलप्रवाहीकरणका लागि बजेट विनियोजन गर्दा त्यसलाई ‘अनुत्पादक खर्च’ मान्ने प्रवृत्ति अहिले पनि हाबी रहेको उहाँको तर्क छ । उहाँले राज्य निश्चित व्यक्ति वा ‘सुकिलामुकिला’ वर्गको मात्र नभई सीमान्तकृत र आर्थिक–सामाजिक रूपमा पिछडिएका सबै नागरिकको साझा हुनुपर्नेमा जोड दिनुभयो ।
दलित आयोगले दलित समुदायको हकअधिकारको विषयलाई कसैले पनि उपहासको विषय बनाउन नहुने जनाउको छ ।