काठमाडौं । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा शनिबार सम्पन्न हुँदैछ ।


रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले शनिबार भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुने भएको हो । नेपालको सबै भन्दा लामो साँस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो शनिबार अपराह्न ४ बजेपछि देखाउने तयारी भएको छ ।


भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल र कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो ।


सोही क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ । शनिबारै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ । साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिने भएको हो ।


रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यकाका विभिन्न ठाउँबाट आएकाहरु ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन छ । विगतका वर्षमा शनिबारका दिन चिडियाखाना र जावलाखेल खेल मैदानमा भोज खाने गरेपनि यसपाली भने खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता रहेको छ ।


जावलाखेलको सदर चिडियाखानामा रहेका केही जिवजन्तुमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखाना परिसर शनिबार सुनसान रहेको हो । चिडियाखानामा विशेषगरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनिय भीड लाग्ने गर्छ ।