काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । 


पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभएको हो । बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको बताउनुभयो । समितिमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रिय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहने उहाँको भनाइ छ । आगामी भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रिय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।


आगामी असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले निर्णय गरेको छ । कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएका छन् ।