काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकतावद्ध हुन आह्वान गर्नुभएको छ ।
भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले पु¥याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिनुभएको छ ।
बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजना जस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गर्नुभयो । उहाँले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’का लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभयो । राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यवद्धता प्रदर्शन गर्ने बेला भएको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।