काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिनुभएको छ ।
उहाँले शुक्रबार बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं बुद्धजयन्तीको पावन अवसरमा एक शुभकामना शन्देश जारी गर्दै यस्तो विश्वास लिनुभएको हो । उहाँले स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजु-भाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो, शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको छु जारी शन्देशमा भनिएको छ।’