काठमाडौं राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजी) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तरराष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको हो । यो नेपालका लागि ठूलो कूटनीतिक उपलब्धि हो । बहुपक्षीयता, अन्तरराष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिवद्धताप्रतिको अन्तरराष्ट्रिय मान्यता हो । प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ ।

राजदूत थापाले त्यो जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ । समितिले निःशस्त्रीकरण, अन्तरराष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।