काठमाडौं चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ ।
प्रतिनिधिको अपेक्षित सङ्ख्या भन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन असार १० गतेसम्म लम्बिने देखिएको हो । महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका प्रवक्ता मनिष झाले शुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको बताउनुभयो । यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्नसक्ने उहाँको भनाइ छ। पार्टीभित्र सहमतिको प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको बताउनुभएको छ । हाल दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोलीले काम गरिरहेको उहाँले बताउनुभयो।
प्रवक्ता झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने स्पष्ट पार्नुभएको छ । उहाँले महामन्त्री पदलाई ठूलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै आफूले पदसँग न्याय गर्नसक्ने आत्मविश्वासका साथ प्रतिष्पर्धामा उत्रने निर्णय गरेको बताउनुभयो । साथै महाधिवेशन चर्को गर्मी र व्यवस्थापकीय असहजताका बाबजुद पनि कार्यकर्ताहरूमा उत्साहजनक सहभागिता देखिएको प्रवक्ता झाले बताउनुभएको छ ।