ललितपुर
दोश्रो राष्ट्रिय आर्थिक गणना वैशाख २ बाट जिल्लाका ६ स्थानीय तहका ७१ वडामा एकसाथ सुरु भएको छ । राष्ट्रिय अभियानका रुपमा सरकारले सुरु गरेको दोश्रो राष्ट्रिय आर्थिक गणना अन्तर्गत देशव्यापी संचालन हुने अभियान ललितपुरमा आजबाट असार ७ सम्म संचालन हुने आर्थिक गणना तथ्यांक कार्यालय ललितपुरका प्रमुख हरिओम पोखरेलले बताए ।
वडाभित्र रहेका विभिन्न आर्थिक केन्द्रहरुमा पुगि इ–सेन्सस र भौतिक विधिमार्फत आर्थिक तथ्यांक संकलन गरी राष्ट्रको वास्तविक आर्थिक अवस्था पत्ता लगाउने अभियान भएकोले सबैले सहयोग गर्न ललितपुर कार्यालयका प्रमुख पोखरेलले आग्रह गरे ।
आर्थिक गणनाका गणक तथा सुपरिवेक्षकलाई दिइएको पाँच दिने तालिम समापन गर्दै सम्पूर्ण विकास योजनाका लागि आधारभूत अवस्थाको पहिचानका लागि आवश्यक आर्थिक तथ्यांक संकलनको अभियानमा स्थानीय तह, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवाला निकायसंग समन्वय गरिएको पनि पोखरेलले बताए ।
ललितपुरमा ९८ जना गणक र १३ जना सुपरिवेक्षक गरी १ सय ११ जना फिल्डमा परिचालन हुने पोखरेलले बताए । जिल्लाका ६ स्थानीय तहका सम्पूर्ण उद्योग व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानको तथ्यांक ल्याउन रियल टाइम डाटा सिष्टम प्रयोग गरी फिल्डको वास्तविक तथ्यांक प्राप्त हुने विश्वास पोखरेलले व्यक्त गरे । व्यवसायको क्षेत्रगत र विषयगत अवस्था, तिनमा भएको पुँजी लगानी, ऋणको अवस्था, एनएसआइसी कोड अनुसारका २१ मध्ये १८ क्षेत्रको तथ्यांक संकलन हुने पोखरेलले बताए ।
पहिलो आर्थिक गणना २०७५ मा भएको र हरेक ५ वर्षमा अद्यावधिक गर्ने भनिए पनि ०८० मा हुन नसकेको र यस आर्थिक गणनाबाट संकलन भएको तथ्यांक डिजिटल रुपमा संकलन हुने र इ–सेन्ससलाई अटो अपडेट हुने गरी व्यवस्थापन मिलाउन समेत सकिने गरी तयार पार्ने तयारी तथ्यांक कार्यालयले गरेको पनि पोखरेलले बताए ।
आर्थिक गणनाका लागि स्थानीय तह, वडा कार्यालय, तथा अन्य सरकारी निकाय तथा नागरिक समाजका विभिन्न निकायसंग समन्वय भएको पनि राष्ट्रिय आर्थिक गणना ललितपुर कार्यालयका प्रमुख पोखरेलले बताए । इ सेन्ससको लागि जेठ मसान्तसम्म र छुटेकालाई असार ७ सम्म भौतिक रुपमा समेटेर गणना गरिने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । उद्योग व्यवसायको चापका आधारमा एउटै वडालाई एक भन्दा बढी गणना क्षेत्र बनाएर गणना गरिएको र ग्रामीण भेकका गाउँपालिका क्षेत्रमा एक वडामा एक गणक र गणना क्षेत्र बनाएर कार्यविभाजन गरिएको पोखरेलले बताए । गणक तथा सुपरिवेक्षकहरुलाई रियल टाइम जिआइएस सुपरिवेक्षण सिष्टम प्रयोग गरिएको पोखरेलले बताए ।