ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई ‘स्मार्ट स्ट्रिट लाइट’ मार्फत उज्यालो बनाउने अभियान तिब्र पारेको छ ।


‘उज्यालो महानगरपालिका’ योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडक खण्डमा आधुनिक सडक बत्ती जडान कार्य अगाडि बढाएको हो । महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार भित्री र बाहिरी सडकहरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ । दोस्रो चरणको यस आयोजना अन्तर्गत हाल चक्रपथको अन्धकार हटाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम भइरहेको छ । 


यस आयोजनाको कुल लागत १३ करोड रुपैयाँ रहेको छ । जसमा ललितपुर महानगरपालिकाले १० करोड र नेपाल विद्युत प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् । सडकमा बत्ती नहुँदा रात्रिकालीन समयमा हुने सवारी दुर्घटना र अवाञ्छित गतिविधिहरूलाई न्युनिकरण गर्ने उद्देश्यले यो आयोजना सञ्चालन गरिएको महानगरले जनाएको छ । आयोजना अन्तर्गत विभिन्न उचाईका ७ सय ९० वटा पोलहरू जडान गरिनेछन् । जसमा ११ मिटर उचाईका (डबल आर्म) ३ सय ७१ वटा पोल, ८ मिटर उचाईका १ सय ९५ वटा पोल, ७ मिटर उचाईका २ सय २४ वटा पोल, १२ मिटरका ६६ वटा मिनी मास्ट पोल रहनेछन् । 


बत्तीको सन्दर्भमा १ सय ५० वाटका १ हजार २ सय ५० थान, ९० वाटका ५ सय ५२ थान र २ सय वाटका १ सय ९८ थान फ्लड लाइटहरू प्रयोग गरिनेछ । हाल पहिलो खण्ड अन्तर्गत बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती जडानको काम सम्पन्न भइसकेको र बाँकी खण्डमा काम भइरहेको छ । आगामी ३ महिनाभित्र सम्पूर्ण ७.९ किलोमिटर क्षेत्रमा बत्ती बाल्ने लक्ष्य राखिएको छ ।