काठमाडौं ।

वर्षा गराउने प्रणाली विस्तारै पश्चिमी भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबैजसो ठाउँमा बदली भएको छ । महाशाखाका अनुसार गएराति देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानीपख धेरै ठाउँमा वर्षा रोकिएको छ । दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यी क्षेत्रका नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज ३० जिल्लामा बाढीको जोखिम रहेको छ ।

मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको तीन दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान छ । विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ्ने अनुमान छ ।