काठमाडौं ।

केही दिनदेखिको अविरल वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा वाह्य पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ । परम्परागत डुङ्गा सयरसँगै नवप्रवेशी शाहसिक खेल ‘स्ट्यान्ड–अप प्याडल बोर्डिङ’ ले फेवाताललाई झनै गुल्जार बनाएको छ ।

हप्तादिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरामा बिहानैदेखि मौसम सफा भएको छ । आकाशका बाक्ला र काला बादलहरू पहाडतिर उक्लिएपछि फेवातालको दृश्य अलौकिक र कञ्चन देखिएको छ । रानीवन र सराङकोटको काखमा अवस्थित फेवातालको पानीमा बादलको छायाँ तैरिरहँदा यहाँ पुग्ने जोकोही मन्त्रमुग्ध हुने गरेका छन् ।

मौसममा सुधार आउनासाथै पोखराको प्रसिद्ध पर्यटकीय क्षेत्र लेकसाइड फुटपाथमा आन्तरिक र वाह्य पर्यटकहरूको बाक्लो चहलपहल शुरु भएको छ ।