काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौं र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली संघ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौंमा रहेका अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको समेत बताउनुभएको छ ।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सोही भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भर्खरै सम्पन्न चुनावी परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारेको बताउनुभयो । नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

नागरिकका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको र बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ । नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो ।