काठमाडौं  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरुलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको बताउनुभएको छ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विदेशी विश्वविद्यालयसम्ंवद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएका काराण नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिनुभएको हो ।
उहाँले शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको समेत बताउनुभएको छ ।

सोही मन्त्रालयहरुको स्वीकृत तथा रायपछि मन्त्रिपरिषद्मा पेश गरिने उहाँले बताउनुभयो । शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकोले शिक्षा नियमावली अगाडि बढाइएको उहाँले जानकारी गराउनुभयो ।
मन्त्री पोखरेलले विद्यालयमा शिक्षक दरबन्दी मिलानको लागि पनि कार्य अगाडि बढाईसकिएको जानकारी गराउनुभयो। स्थानीय तहसंगको समन्वयमा दरबन्दी मिलानको कार्य अघि बढिरहेको उहाँको भनाई छ ।