काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले विद्युतीय सवारी साधनको मापदण्ड, कार्यविधि र व्यवस्थापन सम्बन्धी नीति बनाउन नसकेको आरोप लगाउनुभएको छ । 


प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको मंगलबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । विद्युतीय सवारीको संख्या तीब्र रूपमा बढेपनि त्यसको व्यवस्थापनको नीति बनाउन सरकार असफल भएको बताउनुभयो । 


अध्यक्ष सिटौलाले नेपालमा करिब ७३ प्रतिशत विद्युतीय सवारी संचालनमा रहेको बताउनुभएको छ । तर त्यसको सञ्चालन, मापदण्ड र व्यवस्थापनका लागि सरकारले के बनायो भन्दै उहाँको प्रश्न समेत गर्नुभयो । सार्वजनिक यातायात व्यवस्थापनका लागि आवश्यक तथ्यांक समेत सरकारसँग नभएको दाबी गर्नुभयो । उहाँले पार्किङ व्यवस्थापनलाई राज्यले गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिनुभयो । मालवाहक सवारीका लागि आवश्यक पार्किङ स्थलको अभाव रहेको उहाँको भनाई छ ।


अध्यक्ष सिटौलाले भारतीय सवारीलाई नेपाल प्रवेशमा कडाई गर्नुपर्ने बताउनुभयो । भारतसँगको खुला सीमाका कारण भारतीय नम्बर प्लेटका सवारी नेपालमा सहज रूपमा सञ्चालन भइरहेका उहाँको भनाई छ । लगानीमैत्री, यात्रुमैत्री र व्यवस्थित यातायात नीति ल्याउन सरकारसंँग आग्रह गर्नुभयो ।