काठमाडौं नेपाली काँग्रेसले पूर्णबहादुर खड्कालाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी मुख्यालय सानेपामा बुधबार बसेको पार्टीको केन्द्रिय अनुशासन समितिको बैठकले पार्टीको विधान विपरित प्रेस विज्ञप्ति जारी गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । गत चैत १४ गते जारी गरिएको अनाधिकृत प्रेस विज्ञप्तिको बारेमा सचेत गराउँदा गराउँदै फेरि चैत्र ३० गते पनि अर्को अनाधिकृत प्रेस विज्ञप्ति जारी गरेकाले नेता खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङल बताउनुभएको छ ।
त्यसैगरी बैठकले निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने पार्टीका सदस्यहरुमाथि उजुरी दिने समय पनि एक महिना थप गरेको छ । गत चैत मसान्तभित्र उजुरी दिईसक्नुपर्ने यसको निर्णय भएको थियो सोहीे उजुरीका लागि वैशाख मसान्तसम्म एक महिना समय पनि थप गर्ने निर्णय गरिएको पनि समितिले जनाएको हो ।