काठमाडौं   सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।

कानून दिवसको अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । न्यायाधीशहरूलाई निर्भिक भएर न्याय सम्पादन गर्न आह्वान समेत गर्नुभयो । उहाँले न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने समेत स्पष्ट पार्नुभएको छ । शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनु भयो ।

विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिवद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उहाँको भनाइ छ ।

कायममुकायम प्रधानन्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने बताउँदै विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउने स्पष्ट पार्नुभयो ।