काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले विपद्को समयमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताउनुभएको छ । 

बिहीवार सिंहदरबारमा नेपाली काँग्रेसले आह्वान गरेको विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण कार्यमा विपक्षी दलहरु सरकारको साथमा रहेको पनि बताउनुभयो ।

उहाँले विपद् प्रतिकार्यको पहिलो चरणको काम सम्पन्न भइसकेपछि मात्र राजनीतिक एजेण्डा अगाडि बढाउने विषयमा पनि बैठकमा छलफल भएको बताउनुभयो । उहाँले सिंगो मुलुक नै विपत्तीमा परेको समयमा दलहरुका राजनीतिक मुद्दाहरु गौण हुने बताउनुभयो । १० भदोमा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ ।