काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभउको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा उहाँले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताउँदै प्रधानमन्त्रीको राहत कोषको नामकरण परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद खरेलले सदनलाई जानकारी गराएअनुसार हालैको विपद्मा परी २७ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै बेपत्ता छन् । विपद्का कारण अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले यसलाई ‘दैवी’ भन्नुको सट्टा प्राकृतिक वा मानव सिर्जित समस्याका रूपमा बुझ्नुपर्ने बताउनु भयो ।
यसअघि नै सदनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेको स्मरण गराउँदै उक्त प्रश्तावको जवाफ अझै नपाएको गुनासो गर्नुभयो । खरेलले विपद् व्यवस्थापन प्राधिकरणको हालको संरचना र कार्यशैलीप्रति समेत प्रश्न उठाउनु भयो । उहाँले प्राधिकरणमा सहसचिव स्तरका व्यक्ति राखेर मात्रै विपद्को जटिल समस्या समाधान नहुने भन्दै यसलाई थप अधिकारसम्पन्न र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।