काठमाडौं ।
सरकारले मुलुकका विभिन्न विमानस्थलमा हवाई उडान सुरक्षालाई जोखिममा पार्ने गरी बनाइएका घर, टावर र रुखलाई हटाउने योजना बनाएको छ । त्यसको लागि नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ संघीय संसद्मा पेश गरिएको छ । विधेयकमा उडान सुरक्षामा बाधा पुग्ने संरचना भत्काउन र आपत्कालीन अवस्थामा नागरिकको निजी घरजग्गामा समेत सिधै प्रवेश गर्न सक्ने विशेष अधिकार प्रस्ताव गरिएको छ ।
विधेयकको दफा १७ ले प्राधिकरणलाई विमानस्थल क्षेत्र तथा हवाई मार्ग आसपासका संरचना नियमन गर्ने अधिकार दिएको छ ।
प्राधिकरणले तोकेको शर्त र उचाइभन्दा बढीका भवन, घर, टहरा, टावर, रुख वा अन्य संरचना बनाउन प्रतिबन्ध लगाउनुका साथै निर्माण भइसकेका संरचना भत्काउन वा रुख काट्न नेपाल सरकारसमक्ष अनुरोध गर्न सक्नेछ। यदि कसैले मापदण्डविपरीत अनधिकृत रूपमा संरचना बनाएमा त्यसलाई कसुर मानिने विधेयकमा उल्लेख छ । विधेयकमा यस्तो कसुर गर्ने व्यक्ति वा संस्थाले त्यस्तो संरचना आफ्नै खर्चमा प्राधिकरणले तोकेको अवधिभित्र भत्काउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।