काठमाडौं ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद् पछिको शव व्यवस्थापन र सडक सञ्जाल पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी उहाँले स्थलगत अवलोकनका क्रममा देखिएका समस्या र जनस्तरमा व्याप्त आक्रोशका बारेमा जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूमा ठूलो असन्तुष्टि देखिएको बताउनु भयो ।
घिसिङले अवरुद्ध सडक सञ्जाललाई सुचारु गर्न विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सडक कनेक्टिभिटीमा ढिलाइ गर्न नहुने भन्दै उहाँले यसबारे सरकारलाई स्पष्ट सुझाव दिएको जानकारी दिनुभयो । होल्डिङ सेन्टरहरूमा आश्रित बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूको अवस्थाबारे पनि छलफल भएको छ ।
ती केन्द्रहरूमा स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने विषयलाई गम्भीरताका साथ उठाइएको उहाँले बताउनु भयो । भेटका क्रममा प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको घिसिङको भनाइ छ ।