काठमाडौं । देशभरका शिक्षकहरुले भदौदेखि फेरि आन्दोलन गर्ने भएका छन् ।  

शिक्षकहरु शिक्षा नियमावलीको दशौं संशोधनमा रहेका विवादित प्रावधान सच्याउन र विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित पुन आन्दोलनमा उत्रिन लागेका हुन् । नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग गरिएका माग पूरा नभएको जनाउँदै भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन थाल्ने निर्णय गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्ने महासंघले जनाएको छ ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, शिक्षा नियमावलीको दशौं संशोधनमा रहेका विवादित प्रावधान सच्याउन, शिक्षक सरुवा व्यवस्थापन गर्न तथा विद्यालय कर्मचारी, ईसीडी शिक्षक र अस्थायी प्रकृतिका शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । शिक्षकहरुले यसअघि पनि यिनै माग राख्दै पटक–पटक आन्दोलन गरेका थिए। विभिन्न सरकारसँग सहमति भए पनि ती सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा जान बाध्य भएको महासंघले जनाएको छ ।