काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिले शनिवार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपतिले विश्वव्यापी रूपमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको औंल्याउँदै शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अङ्क ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपतिले विद्यालय स्तरदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना र सामाजिक मूल्य मान्यताको विकास गराउन सरोकारवालाले ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ ।
राष्ट्रपतिले विगतका उपलब्धिलाई जग बसाल्दै आगामी दिनमा नीति निर्माता, शिक्षक र अभिभावकले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।