काठमाडौं ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदहरूले प्रेस स्वतन्त्रता, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विकास आयोजनाका कारण उत्पन्न वातावरणीय एवं सामाजिक जोखिम र शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले सरकारका पछिल्ला कदमहरूको आलोचना गर्दै जनसरोकारका विषयमा तत्काल सम्बोधन गर्न माग गरेका हुन् । बैठकमा सांसद घनश्याम रिजालले सञ्चार गृह र पत्रकारहरूमाथि सरकारले हस्तक्षेप बढाएको आरोप लगाउँदै वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउनु भयो । उहाँले प्रेस स्वतन्त्रताको रक्षा गर्न र श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटका मनबहादुर विश्वकर्मालाई विनापूर्जी ‘अपहरण शैली’मा पक्राउ गरिएको भन्दै विरोध जनाउनु भयो । पछि उनी रिहा भएको सूचना प्राप्त भएको जानकारी दिँदै सांसद विश्वकर्माले सरकारलाई शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत छिटो टुङ्ग्याउन आग्रह गर्नुभयो ।

तनहुँ जलविद्युत आयोजनाका कारण स्थानीयवासीले भोग्नुपरेको समस्याबारे सांसद पदमबहादुर परियारले सदनको ध्यानाकर्षण गराउनु भयो । आयोजनाले सेती नदीको प्राकृतिक बहाव परिवर्तन गर्दा स्थानीयको थातथलो र पेसा संकटमा परेको तथा समुदायबीच द्वन्द्व बढेको भन्दै उहाँले एसियाली विकास बैंक (एडीबी) को ‘कम्प्लायन्स रिभ्यु प्यानल’को प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । 

यसैगरी, सांसद विष्णुकुमारी सापकोटाले काठमाडौं उपत्यकामा अनियन्त्रित रूपमा बढिरहेको घरभाडाको विषय उठाउनु भयो । न्युन तथा मध्यम आय भएका नागरिक, विद्यार्थी र श्रमिकहरू भाडाकै कारण विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उहाँले वैज्ञानिक भाडा दर निर्धारण र नियमनका लागि स्पष्ट नीति र कानून ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो । 

बजारमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव र इन्धनको मूल्यवृद्धिका विषयमा सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र विष्णुदेवी पुडासैनीले आक्रोश व्यक्त गर्नुभयो । सांसद अधिकारीले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समायोजन नगर्ने तर बढ्दा तत्काल बढाउने प्रवृत्तिले जनता मारमा परेको बताउनु भयो । सांसद पुडासैनीले कवितामार्फत सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउँदै अभाव र महँगीले जनताको भान्छा प्रभावित भएको उल्लेख गर्नुभयो ।