काठमाडौं
नयाँ वर्ष २०८३ वैशाख १गते पर्यटकिय नगरी शैलुङमा रहेको भिमसेन तरवारको पुजा गरिने भएको छ ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ शैलुुङ डाँडामा रहेको भीमसेन तरवार शिला पुजा कार्यक्रममा प्रसिद्द मंदिरका पुजारीहरु समेत सहभागी हुने एसएस फाउण्डेशनका संंरक्षक एवम समाजसेवी शोभित उप्रेतीले बताउनु भएको छ ।
किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरवार (खड्ग) विसाएर विश्राम गरेको र हिड्ने बेला तरवार त्यहि छोडिएको हो ।तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती समेत रहेको छ ।
तमाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाँउमा सयवटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय जेष्ठनागरीकहरु बताउछन् । हरेक १२ वर्षमा गोदावरी फूल्ने, धर्म ढोकामा कर्मको मूल्याङ्कन हुने, र शिवजीको प्रतिमूर्तिसँग मागिएको वर खेर नजाने धार्मिक विश्वासले यस क्षेत्रको आध्यात्मिक गहिराईलाई अझ गाढा बनाएको छ।भीमा एकादशीको दिन मात्रै होइन, हरेक धार्मिक चाडपर्वमा यहाँको भीमसेन सिला तरवारमा पूजाआजा हुने परम्परा छ।शैलुङ क्षेत्र केवल एक धार्मिक गन्तव्य मात्र नभएर भूगोल, वनस्पति, किंवदन्ती छ । शैलुङ केवल मन्दिरको थलो होइन, यो भूगोल नै धार्मिक ऊर्जा बोकेको छ । यो किम्बदन्ती, संस्कृति र प्राकृतिक स्रोतको संग्रहालय मानिदै आएको छ ।