काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदको गरिमा कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
६८ औँ संसद दिवसको अवसरमा मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता समेत औंल्याउनु भयो । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने उहाँको तर्क छ । जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र सोही कोषबाट संसदको खर्च चल्ने भएकाले सांसदहरूले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने उहाँले बताउनु भयो ।
सांसद गौतमले संसदको मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।