काठमाडौं ।
सांसदहरूले मुलुकको पछिल्लो भू–राजनीतिक अवस्था, जलवायु परिवर्तनका प्रभाव र जनसरोकारका दैनिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छन् ।
सांसदहरूले बाढीपीडितको उद्धार, सार्वजनिक यातायातमा महिला सुरक्षा, लागुऔषध नियन्त्रण र दीर्घकालीन पूर्वाधार विकासका लागि सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन् ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद अनुष्का श्रेष्ठले जलवायु परिवर्तनका सन्दर्भमा प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको महासभामा भएको सम्बोधनको प्रशंसा गर्दै नेपालले उठाएको ‘जलवायु न्याय’ र क्षेत्रीय समन्वयको एजेन्डालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञान, नीति र कुटनीतिको समन्वय गर्दै स्थानीय समुदायको आवाजलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
सांसद अमृता विकले आफ्नो निर्वाचन क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षति र विस्थापितहरूको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराउनु भयो । सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाका सञ्चालन गर्न र सो सडक निर्माणलाई द्रुत बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।