काठमाडौं सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा भोलि प्रस्तुत गर्ने भएको छ ।
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबार अपरान्ह ४ बजेदेखि शुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक प्रावधान छ ।
संसद् सचिवालयले प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई अपराह्न पौने ४ बजे नै उपस्थित हुन अनुरोध गरेको छ । त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिइने छ ।
त्यसपछि मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने कार्यसूची रहेको छ । सरकारले ल्याएका विभिन्न अध्यादेश अनुमोदनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा सोमबार नै पेश गरिने भएको छ ।