काठमाडौं ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद र समाजमा ‘खुला मञ्च’ को खाँचो रहेको बताउनुभएको छ ।
आईतवारबाट काठमाडौंको खुला मञ्चमा शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताउनुभएको हो । थापाले संसद अहिले अवरुद्ध र बन्द अवस्थामा रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने र नगर्ने दुवै पक्षका सांसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । थापाले केवल संसद मात्र होइन, समाजका विभिन्न तप्कामा पनि संवादको संस्कृति हराएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहाड र मधेस, जातजाति र धर्मका नाममा हुने टीकाटिप्पणी भन्दा पनि एकले अर्कासँग गर्ने संवाद नै आजको आवश्यकता भएको औंल्याउनु भयो ।
सभापति थापाले डिजिटल प्लेटफर्मको प्रयोगमा पनि प्रश्न उठाउनु भयो । उहाँले हालको डिजिटल मञ्चमा तथ्य र तर्कभन्दा केवल प्रतिक्रियात्मक प्रवृत्ति हाबी भएको बताउँदै डिजिटल युगमा पनि तार्किक बहस र तथ्यको सम्मान हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नागरिक र राज्यबीचको दूरी घटाउन यस्ता मञ्चहरू प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ छ ।