काठमाडौं ।  प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गर्नुभएको छ । 

शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गर्नुभएको हो । उहाँले युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको स्पष्ट पार्नुभयो ।

सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै उहाँले सरकारलाई ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । मधेस र पहाडको सम्बन्धका बारेमा चर्चा गर्दै परियारले दुई क्षेत्रबीच केवल सद्भाव मात्र नभई ‘समभाव’को आवश्यकता रहेको औंल्याउनु भयो ।

उहाँले गरिब, सुकुम्बासी, मजदुर र उत्पीडित वर्गको पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले नयाँ भनिएका राजनीतिक शक्तिहरूले इतिहासको अवमूल्यन गरिरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । समाज विकासको क्रममा हरेक पुस्ताको योगदान महत्त्वपूर्ण हुने भन्दै उहाँले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरी लगायतका नेताहरूले गरेको सङ्घर्षलाई कसैले नजरअन्दाज गर्न नमिल्ने बताउनु भयो ।