काठमाडौं मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सङ्घीय सरकारले सङ्घीयतालाई सबल बनाउनुको साटो कमजोर पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकाको १७ औँ नगरसभालाई सम्बोधन गर्दै सभामुख मण्डलले सङ्घीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । सभामुख मण्डलले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई संवैधानिक अधिकार सम्पन्न सरकारको रूपमा स्वीकार गर्नुको साटो आफ्नो प्रशासनिक निकायको रूपमा मात्र प्रयोग गर्न खोजेको बताउनु भयो ।
मटिहानी नगरपालिकाको उदाहरण दिँदै सभामुख मण्डलले मानव विकास सूचकाङ्क (एचडीआई) मा पछि परेका क्षेत्रलाई प्राथमिकता दिनुको साटो न्युन अनुदान दिएर विभेद गरिएको उल्लेख गर्नुभयो । विपन्न र दलित समुदायको बाहुल्यता रहेको मटिहानीले समानीकरण अनुदानतर्फ मात्र १० करोड रुपैयाँ प्राप्त गर्नु अन्यायपूर्ण रहेको उहाँको तर्क थियो ।
उहाँले सङ्घीयतालाई मजबुत बनाउन संविधानले दिएको अधिकारहरूको निर्वाध प्रयोग गर्न पाउने वातावरण हुनुपर्नेमा जोड दिनुभयो ।