काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन ५६ ठाउँमा सकिएको भने १२ जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ ।
रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन शुरु भएको थियो । आइतबार अधिवेशन शुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् । कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटा लगायतका जिल्लमा अधिवेशन सकिएको रास्वपाले जनाएको छ । उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ । मधेश प्रदेशतर्फ महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपश्चात् निर्वाचनको प्रक्रिया अघि बढेको छ । सप्तरी र बारामा आज अधिवेशन भइरहेको छ । आन्तरिक विवादको कारण यसअघि स्थगित भएको धनुषाको अधिवेशन मंगलबार हुनेभएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि छिटफुट बाहेक अधिकांश जिल्लामा अधिवेशन सकिएको छ ।