काठमाडौ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिवद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ । 

शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारले नागरिकमाथि करको भार थोपरेको पनि आरोप लगाउनु भयो ।

सरकारको सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उहाँको भनाई छ । चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिनुभयो । सरकारप्रति कोही सन्तुष्ट बन्न नसकेको उहाँको भनाई छ ।

गाउँका किसान धान न्युन मूल्यमा विक्री गर्न बाध्य भएको उहाँले दाबी गर्नुभयो । उहाँकाअनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा विक्री गरेपनि विचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ । उहाँले आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको बताउनु भयो । देश निर्माणमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको उहाँको भनाई छ ।

चौधरीले सरकारले आफूहरूको आवाजलाई बेवास्ता गर्दै गएमा आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने चेतावनी समेत दिनुभयो । ‘सरकारले आफूहरूको माग र सुझावलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै चौधरीले नागरिकको आवाज बेवास्ता नगर्न सरकारलाई आग्रह गर्नुभयो ।