काठमाडौं

सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । 

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच मंगलवार भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताउनुभएको छ ।

सभामुख अर्यालले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । कजलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यवद्धताको अपेक्षा गर्नुभएको छ । भेटवार्तामा अष्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।