काठमाडौं ।
समयमा पानी नपर्दा यस वर्ष धान रोपाइमा ढिलाइ भइरहेको छ । कृषि विभागका अनुसार अहिलेसम्म देशभर ३२ दशमलव ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टरमध्ये अहिलेसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको हो । गएको वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाइँ भइसकेको थियो ।
धान उत्पादनको भण्डार मानिने मधेश प्रदेशकै अवस्था चिन्ताजनक रहेको छ । विभागका अनुसार मधेशको ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको जम्मा १५ दशमलव ६ प्रतिशत हो । गएको वर्ष मधेशमा यही अवधिमा २५ दशमलव १ प्रतिशत रोपाइँ भइसकेको थियो ।
अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५७ दशमलव ९ प्रतिशत रोपाइ भएको छ । सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा ८२ दशमलव ८ प्रतिशत रोपाइँ भइसकेको थियो । यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४० दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३७ दशमलव ३ प्रतिशत, बागमती प्रदेशमा ३३ दशमलव २ प्रतिशत र कोशी प्रदेशमा ३१ दशमव ५ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसुन फैलन पनि ढिलाइ भएको थियो ।