काठमाडौं ।आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा उपराष्ट्रपति यादवको जोड, नयाँ पुस्तालाई आफ्नै भाषा संस्कृति संरक्षणमा जिम्मेवार बन्न आग्रह ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समावेशिता नारामा मात्र सीमित नराखी राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व अझ सुदृढ गर्नुपर्ने बताउनु भयो ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको उहाँको भनाई छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सकेमा मुलुकले विभिन्न क्षेत्रमा सकारात्मक प्रगति गर्न सक्ने उहाँले बताउनु भयो । उहाँले नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति र मौलिकताको संरक्षणप्रति जिम्मेवार बनाउन अग्रसरता लिनुपर्नेमा पनि जोड दिनुभयो ।