काठमाडौ उपत्यकाका नदी किनारा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ ।
भक्तपुरको मनोहरा नदी आसपासको सुकुम्वासी बस्तीका घरहरु भत्काउने क्रम सोमबार पनि बिहानैदेखि जारी रहेको हो । १३ वटा डोजर प्रयोग गरेर सोमबार बिहान ७ बजेदेखि सोमबार गरिगाउँ नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा पनि डोजर लगाइएको छ । मनोहरा खोला किनारमा रहेको बस्ती हिजो बिहानदेखि भत्काउन थालिएको थियो ।
केही घर टहरा बाँकी रहेकाले सोमबार बिहान पनि सोही कामलाई जारी राखिएको हो । घर टहरा भत्काउन भक्तपुरबाट प्रहरी र काठमाडौं महानगरपालिकाबाट नगर प्रहरीसँगै डोजरहरु प्रयोग गरिएको छ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुमवासी बस्तीका घरटहरा पूर्णरुपमा भत्काइएको छ । त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको हो । काठमाडौं उपत्यकामा मात्र बागमती नदी किनारसहितका २७ ठाउँमा सुकुम्बासीसहितका नाममा सरकारी जग्गा अतिक्रमण भएको छ ।
यी क्षेत्रमा तीन हजार ४ सय ९६ घरटहरा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको हो । जसमध्ये काठमाडौं महानगरमा २ हजार १ सय ७०, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १ सय ५६, गोदावरीमा २ सय १५, ललितपुर महानगरमा १७ र भक्तपुर जिल्लामा ७ सय ७३ अवैध घरटहरा रहेका हुन् । देशैभरी करिब १५ देखि १६ लाखसम्म सुकुम्बासी परिवार रहेको सरकारी आँकडा रहेको छ ।