काठमाडौं सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको सुरक्षाका लागि स्थानान्तरण प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाएको हो । मन्त्रालयले सहारा नभएका र वास्तविक समस्यामा परेका नागरिकका लागि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न होटल तथा लजमा बस्ने र खाने लगायतका आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ ।

स्थानान्तरणका क्रममा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

स्थानान्तरणलाई व्यवस्थित बनाउन नागरिकहरूको सामान ढुवानीको जिम्मा नेपाल प्रहरीले लिएको छ । मन्त्रालयले नागरिकका सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पु¥याउने व्यवस्था मिलाइएको छ । सोही ठाउँमा सामानको विस्तृत अभिलेख राखेपछि सम्बन्धित व्यक्तिलाई यातायातको साधनमार्फत तोकिएको होटल वा लजमा पु¥याइने भएको छ ।

मन्त्रालयले नागरिकको धनमालको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको हो । जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरेपछि नागरिकले तत्कालका लागि आवश्यक पर्ने खाना र आवासको चिन्ता लिनुनपर्ने मन्त्रालयको दावी छ ।