काठमाडौं ।
जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।
बिहीवार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाउनुभएको हो । उहाँले साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताउनु भयो । सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उहाँको भनाई छ । कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताउनु भयो ।
उहाँले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथी गोली हानेको आरोप लगाउनु भयो । द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेन–जी उमेर समूहका रहेको उल्लेख गर्दै उहाँले जेन–जी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भएपनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उहाँको भनाई छ ।
उहाँले कप्तानगन्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउनु भयो । उहाँले हालै भारतमा भएको सीजेपीको ठुलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उहाँको भनाई छ । तर नेपालमा भने सानो झडपमै गोली चल्नु चिन्ताजनक भएको उहाँले बताउनु भयो । उहाँले ढुंगानाले नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले सरकारलाई पेट्रोलियम पदार्थमा भईरहेको मिसावट रोक्न र मुल्य घटाउन पनि आग्रह गर्नुभयो । उहाँले नेपालमा चीन विरोधी गतिविधि भईरहेको उल्लेख गर्दे सरकारको पराराष्ट्र नितिप्रति पनि प्रश्न उठाउनु भयो ।