काठमाडौं नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारका गतिविधिले मुलुकको स्वाधीनता, संसदीय प्रणाली र लोकतान्त्रिक भविष्यमाथि गम्भीर चुनौती खडा गरेको आरोप लगाउनुभएको छ । 


पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित प्रचार तथा प्रकाशन विभागको विभागीय जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो आरोप लगाउनुभएको हो । महासचिव पोखरेलले चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने अपेक्षा गरिए पनि सरकारका कार्यशैलीले जनमानसमा थप सन्देह र आशंका पैदा गरेको बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र साहले देशको स्वाधीनता र राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक पैरवी गर्न नसकेको टिप्पणी गर्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन एमाले सधैं तयार रहेको उल्लेख गर्दै महासचिव पोखरेलले प्रणालीलाई नै कमजोर बनाउने कुनैपनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । 


महासचिव पोखरेलले प्रचार तथा प्रकाशन विभागको नवनियुक्त प्रमुख निरज आचार्यलाई पदभार हस्तान्तरण गर्नुभएको छ ।