कठमाडौं ।
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलको नेता ज्ञानबहादुर शाहीले सम्पत्ति छानविन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाउनुभएको छ ।
आफ्ना मन्त्री र नयाँ संसदहरुको सम्पती छानविन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको नेता शाहीको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको पनि सरकारले गरिरहेको राजनीतिकरणको दृष्टान्तको रुपमा लिन सकिने बताउनु भयो । नेता शाहीले सरकारले नागरिकको हितमा कानून बनाउने पर्नेमा अन्यथा गरिरहेको पनि बताउनु भयो । मान्छेको जीवनभन्दा ठूलो सत्ता नहुनेतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
नेता शाहीले नागरिकको अभिभावकको रुपमा काम गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आफूहरुको विरोध कायमै रहेको पनि बताउनु भयो ।